जब दिल्ली बिश्वको सबैभन्दा प्रदूषित सहर घोषित भयो, त्यही बेला नियतिले हामीलाई त्यही सहरको गहिराइमा घचेटेर पठायो। बुबालाई पिसाबको समस्या बढेको हुनाले उपचार गर्न दिल्ली जानुपर्ने भयो। आमा र बुबालाई लिएर म दिल्लीको बाटो लाग्।
पोखराबाट भैरहवा प्लेनमा, अनि कृष्णनगर बोर्डर हुँदै ट्रेन चढेर दिल्ली पुग्दा, यस्तो लाग्यो मानौँ एउटा अर्को भिन्न संसारमा टेकियो—जहाँ हावा नै विषाक्त थियो, जहाँ मान्छेहरूको स्वरभंगिमा सधैँ निराशा थियो।
राजीव गान्धी अस्पताल।
यहाँको चिसो हावाले मेरो मन र शरीर दुवैलाई कठ्यांग्र्याइरहेको थियो। अस्पतालको भित्ता रित्तो थिए, तर वातावरणभरि त्रास थियो। बुबाको अपरेसन भएको दिन मेरो सारा मनको शक्ति चाटिने गरी चिन्ताले घेरिएको थियो।७७ वर्षीय बुबा ओपरेशन थिएटरभित्र, र म कुर्सीमा एकनास बसेर त्यस फलामे ढोकालाई हेर्दै थिएँ।
मनको कुनै कुनाबाट बारम्बार प्रश्न उठ्थ्यो—“बुबा ठिक त हुनुहुन्छ होला?”
त्यही बेला मलाई मेरो आफ्नै शारीरिक अवस्था बिर्सिए जस्तो लाग्यो। म फेरि ABPA Asthma को बिरामी। औषधि नियमित खाइएन भने जुनसुकै बेला पनि सास फेर्न गाह्रो हुन्छ। तनाव र भागदौडमा औषधि नखाएको दुई दिन बितिसकेको थियो। कुर्सीमा बस्दै, रातभरि निदाउने प्रयास गर्दै, ठण्डीले ज्यान कठ्यांग्रिए पनि, मेरो ध्यान बुबातिर नै थियो। भेट्न दिएको थिएन, तनाव झन् झन् बढ्दै थियो। रातभरि अस्पतालको जाडो, बुबाको चिन्ताले मन गलेको थियो, ज्यान थाकेको थियो।
अर्को दिन बिहान बल्ल बुबालाई भेट्न दिइयो। बुबाको स्थिति राम्रो देखेपछि बल्ल ढुक्क भएँ।
बुबाले “यो पटकको अपरेसन सजिलो नदुखाई गरिदियो” भनेपछि बल्ल अलिकति मन हल्का भयो। मैले फोटो/भिडियो लिनु हुँदैन भन्ने नियम थाहा थियो, तर बुबाको त्यो हल्का मुस्कान र उहाँको स्वर मेरो लागि priceless थियो। त्यसै पनि, हाम्रो परिवार फेसबुकको एउटा private group मा जोडिएको थियो, जहाँ साना–ठूला कुरा सबैले बाँड्ने चलन थियो। बुबाको सानो क्लिपले सबैमा “सब ठीक छ” भन्ने खबर पुर्याउने थियो।
तुरुन्तै मोबाइललाई खुस्काएर क्यामेरा खोलें। त्यस्तो अवस्थामा कसैले देख्न सक्ने डर थियो, तर मैले बेवास्ता गरें। मैले सानो “क्लिप रेकर्ड” गरेँ। त्यस क्लिपमा उहाँको हल्का मुस्कान र सानो स्वर समेटियो। त्यसपछि, त्यही भिडियो फेसबुकको हाम्रो “Family Group” मा पठाएँ।
“ICU में ज्यादा देर नहीं रुक सकते, प्लीज बाहर वेट कीजिए,” नर्सको आवाजले मेरो मनमा अरू भय थपिदियो।
मेरो आँखा बुबामाथि थियो। उहाँको अनुहारमा हल्का थकान देखिन्थ्यो, तर त्यो थकानभन्दा म उहाँको जीवनप्रति झल्किएको अडानलाई हेरिरहेको थिएँ। म उहाँलाई के भनौँ, कसरी ढाडस दिऊँ, भन्ने सोचिरहेँ।
मैले बुबालाई हेरें र भनें, “म बाहिर नै हुन्छु है।”
बुबाले हल्का मुस्कुराउँदै टाउको हल्लाउनुभयो। त्यो मुस्कानमा विश्वास थियो—मेरो छोरा छ, ऊ मेरो लागि बाहिरै हुन्छ। उहाँको त्यो हल्का प्रतिक्रिया मेरो मनको भार थियो, तर मेरो कदम भने ढिलो–ढिलो चल्दै बाहिरतिर जान थाले। त्यो फलामे ढोका मेरो आँखाको अगाडि थियो, जसको प्रत्येक पटकको खुला/बन्दले मेरो मुटुको धडकन बढाउँथ्यो। आफ्ना विचारहरूलाई केही समय थाम्न म बुबालाई भेट्न ढोकाको बाहिर गएँ।
भित्र छिर्न नदिने सुरक्षा गार्डलाई हेरेर मैले सोधेँ, “कब तक वार्ड में शिफ्ट करेंगे?”
सुरक्षा गार्डले उत्तर दिइन्, “कुछ ही देर में शिफ्ट करेंगे। आप प्लीज बाहर वेट कीजिए, बुला लेंगे।”
तर मन शान्त कहाँ थियो र! त्यस ढोकाभित्र भइरहेको कुराले मेरो चित्तलाई तहसनहस पारिरहेको थियो। यद्यपि, म आफैँलाई ढाडस दिएर बाहिर कुर्सीमा बसें।
बाहिर प्रतीक्षालयमा मान्छेको भिड थियो। एक–एक गरी नर्सहरूले नाम बोलाउँदै गए, तर मेरो बुबाको नाम भने बोलाएनन्। समय बित्दै गयो। मनमा डरको बादल झन् बाक्लिँदै गयो। तर, पिसाबले मलाई झन् बढी बेचैन बनायो। “नाम बोलाए भने थाहा नहुने हो कि?” भन्ने डरले एकपटक सुरक्षा गार्डलाई फेरि सोधेँ, “कब तक वार्ड में शिफ्ट करेंगे?”
सुरक्षा गार्डले उही उत्तर दिए, “कुछ ही देर में शिफ्ट करेंगे। आप प्लीज बाहर वेट कीजिए, बुला लेंगे।”
तर, भित्र ICU मा बुबाको अवस्था कस्तो छ भन्ने विचारले मेरो चिन्ताको सीमा नाघिसकेको थियो। चुम्बकझैँ, मैले आफूलाई प्रतीक्षालय बाहिरबाट टाढा जानै दिन सकिनँ।
आईसीयू बाहिरको चिसो फलामे कुर्सीमा बसेर, मेरो वरपरको संसार एकदमै सुनसान महसुस भइरहेको थियो। मेडिकल मेसिनहरूको मधुरो आवाज, नर्सहरूको परालगरेको कुरा, र कहिलेकाहीँ कसैलाई नराम्रो खबर सुनेर फुटेको रुवाई—यी सबै मिसिएर एउटा अनौठो र दुःखद संगीतजस्तै सुनिन्थ्यो। त्यो फलामे ढोकाभित्र, मेरो बाबा जीवनको लागि लडिरहनु भएको थियो। र म यहाँ, मेरो आफ्नै जीवनको अर्थ खोज्दै।
धेरै समय अगाडि होइन, मेरो जीवनमा सबै ठीक थियो। मैले कहिल्यै सपना देख्न सक्ने कुरा सबै पाएको थिएँ—अमेरिकामा सफ्टवेयर इन्जिनियरको रूपमा सफल करिअर, आफ्नै मेहनतले किनेको घर, दिदीबहिनी, भाञ्जाभाञ्जीहरू, साथी जस्ता विनाजु हरू, र थोरै तर प्रिय साथीहरू। तर भाग्यले, जस्तै यसले सधैं गर्छ, मेरो लागि अर्को योजना बनाएको रहेछ।
म ती क्षण सम्झिन्छु, जब मैले यो सबै छोड्ने निर्णय गरेँ। त्यो सजिलो निर्णय थिएन, तर त्यो एक मात्र निर्णय थियो, जुन मैले गर्न सक्थें। मेरा बा-आमा, जसले मलाई सबै दिनुभएको थियो, अहिले मलाई आफ्नो जीवनमा सबैभन्दा धेरै चाहिनुहुन्थ्यो। जुलाई २०१९ मा, जब हामीले क्यान्सरको कुरा थाहा पाएका पनि थिएनौं, मैले आफ्नो झोला प्याक गरें, मेरो सफलताको सपना छोडें, र उनीहरूसँग हुन नेपाल फर्किएँ।
त्यसपछि आयो त्यो खबर—चौथो चरणको क्यान्सर। ती शब्दहरूको भारीपन म कहिल्यै बिर्सन सक्दिनँ। ती शब्दहरूले मेरो जीवनमा रहेको सबै नियन्त्रण चकनाचुर बनाइदिएको थियो। त्यही समयमा मेरो जीवनको अनमोल खबर आयो – मेरी पत्नी गर्भवती थिइन्। यो समाचारले मसँग त्यस्ता भावना र संवेदनाहरू ल्याए, जसलाई शब्दमा पोख्न सक्दिन। म दुई संसारबीच चिरिएजस्तै भएको थिएँ—उमेरो मनमा दुई विपरीत भावना संघर्ष गर्दै थिए। एकतर्फ, एक नयाँ जीवनको आगा मनमा आशा र उत्साह ल्याउँदै थियो, तर अर्कोतर्फ, मेरो पिताको असाध्य रोगसँगको संघर्षले गहिरो चिन्ता र व्याकुलता सिर्जना गरिरहेको थियो। यो अजीब मिश्रण थियो, दुःख र खुशीको। मलाई थाहा थियो कि मैले यो दुबै परिस्थितिमा सन्तुलन बनाउनुपर्छ।
पछिल्लो एक वर्ष—कुनै आँधीजस्तै भएको छ। कहिले आशा, कहिले निराशा, कहिले आँसु त कहिले हाँसो। मलाई मेरो दाजुभाइहरूले सधैं साथ दिनुभयो, तर मैले यो बाहिरी संसार देखिसकेको र उनीहरूको भाषा बोल्न सक्ने भएकाले म सधैं अगाडि लाइनमा राहन्थे। मेरा बाले र मैले अन्त्यहीन यात्रा गर्यौं—काठमाडौँदेखि दिल्लीसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म। २८ वटा अस्पताल, चारवटा ठूला अपरेशन, गन्न नसकिने परीक्षणहरू, र करोडौँ रुपैयाँ खर्च भयो। यद्यपि, उहाँ अझै पनि यहाँ हुनुहुन्छ, अझै लड्दै हुनुहुन्छ।
त्यो फलामे कुर्सीमा बसेर, मैले सोचें—जीवन के हो त? म एकपटक सोच्थेँ, पैसा नै सुरक्षा हो, खुशी हो। तर कुनै पनि धनराशिले मेरो बुवा को रोग लाई निको पार्ने सक्दैनथ्यो ।
र समय—कस्तो क्रूर हुन्छ समय। हामीले यसलाई सधैं आफ्नो पक्षमा हुने ठान्छौं। तर यो पलभरमै क्षणहरूलाई सम्झनामा बदल्छ, हामीलाई विगतलाई समात्न लगाउँछ, जबकि भविष्य हाम्रो औंलाबाट चिप्लन्छ। मैले बर्षौंसम्म माइलस्टोनहरू पछ्याएँ, सोचें मेरोसँग अनन्त समय छ। तर अहिले, हरेक सेकेन्ड अमूल्य लाग्छ, मेरा बाको हरेक सास एउटा वरदानजस्तो लाग्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने मैले बुझेँ—यो मैले बनाएको घर होइन, न यो मैले छोडेको करिअर। यो त मेरो बाको हात समातेर उहाँ कमजोर महसुस गरिरहनुभएको बेला उहाँलाई साथ दिने कुरा हो। यो लामो सर्जरीपछि उहाँले दिने त्यो हल्का मुस्कान हो। यो त शारीरिक रूपमा मात्र होइन, आत्मा सहित प्रियजनहरूको लागि हुनु हो।
घण्टा बित्दै जाँदा, कुर्सी चिसिँदै गयो र मेरा सोचहरू शान्त भए। जीवन कति नाजुक र अप्रत्याशित हुन्छ। तर माया—माया नै हो, जसले हामीलाई अघि बढ्न मद्दत गर्छ। यही हो, जसले सम्पूर्ण पीडा, त्याग, र अनिश्चिततालाई सहन लायक बनाउँछ।
बिहान ८ बजेबाट “अहिले एकछिनमा ward सार्ने हो” भनेको तर वार्ड दिउँसो ३ बजेसम्म पनि सारिएन। आमा कोठामा हुनुहुन्थ्यो। दाजुहरु, दिदी भाउजू, अनि श्रीमती मेरो अपडेटको प्रतीक्षामा थिए। फोन आउँथ्यो, “के भयो? सारियो?” म “अहिले एकछिनमा” भनेर उत्तर दिन्थेँ। म बाहिर निस्केको बेला फेरि वार्ड मा सार्ला भनेर कतै नगई खानासमेत खाएको थिइनँ।
बल्ल बेलुका ५ बजे सारियो। सब ठीक भयो। वार्डमा सारेपछि बन्दोबस्त मिलाएपछि, अपार्टमेन्टमा चिन्ता गरेर बसिरहेकी आमालाई लिन गएँ। आमाले बिहान मैले नखाएको भात भुटेर दिनु भयो। मिठो मानेर खाएँ। आमा लाई लिएर अस्पताल पुग्दा ६:३० बजेको थियो। सबै कुरा सामान्य भएपछि, “आमा, तपाईंलाई कोठामा छोडेर आउँछु,” भनें। तर, आमाले कोठा जान मन गर्नु भएन। “मिलाएर यतै सुताऊ, २ जना” भन्नु भयो।
सोचेँ—२ जना अस्पताल बस्नुभन्दा म त कोठामा आएर अलिकति सुत्नैपर्छ। आमालाई अस्पतालमा कुर्न राखेर कोठामा आइपुगेँ।
कोठा। चिसो। शून्यता।
थकित शरीरले आराम माग्दै थियो। भोकले पेट दुख्न थाल्यो। किचनतिर एक कुनामा भुटेका मकै थिए। मकै टन्न खाएँ। केही हल्का भयो। अनि बिस्तारामा पल्टिएँ। निद्रा आँखामा छचल्किइसकेको थियो। अब निदाउँछु । तर, थाहा थिएन कि रात एउटा अनकन्टार भयको कथा लिएर आएको थियो।
रातको एकछिनमा म अत्तालिँदै ब्यूँझिएँ। छातीमा भारी महसुस भयो। घाँटी अड्किएजस्तो भयो। फोक्सोले सास लिन इन्कार गरेको थियो।
अब मेरो मनले सम्झियो—इनहेलर। जीवनको त्यो एकसरो साथ, जुन मैले झोला पल्टाउँदै, कोठाका कुनाकाप्चा छान्दै खोज्न थालेँ। तर, कोठा चुप थियो। इनहेलर थिएन।
“अस्पतालमै छुटेको छ,” मनले त्यो भनाइको स्मरण गरेपछि मलाई यस्तो लाग्यो, मानौँ कसैले एक झट्कामा मेरो जीवनसंगीनलाई खोसेर लगेको छ।
दिल्लीको कठ्यांग्रिने जाडो। रातको २ बजेको थियो। बाहिर निस्केर मेडिकल जानु असम्भव। फोन गर्दा कसैले उठाएनन्। फोन उठाए पनि के बोल्न सक्थे होला र? मनमा डरले जरा गाड्दै गयो। दिमागले कुनै उपाय सोच्न सकिरहेको थिएन। श्वास लिँदा छातीको सम्पूर्ण शक्ति लगाउनु परिरहेको थियो। लाग्यो—अब बाँच्न सक्दिनँ।
तर, जीवन जिउने एउटा अदम्य साहसले मलाई रोक्न दिएन। म किचनतिर दौडिएँ। धाराबाट बगेको थोरै पानी तताएँ। त्यो तातो पानीले केहि राहत महसुस गरायो।
“यो मेरो अन्तिम रात हो कि?” मनले मेरो हृदयलाई पिठ्यूँ पछार्दै सोध्यो।
तर, जीवनको एउटा बलियो पक्ष, जसलाई संघर्ष भन्छौँ, फेरि पनि एकपटक जुरुक्क उठ्यो। “हार मान्न सकिँदैन,” मैले आफैँलाई भनें।
अब म किचनको टेबलमा झुकेर बसेँ। थाकेको शरीर। पातलो सास।
“बुबा र आमाको अनुहार सम्झेँ।
श्रीमतीको कुरा सम्झेँ, ‘आफ्नो पनि ख्याल गर्नु है, एउटा काममा Busy भएपछि अरु सबै कुरा बिर्सिनु हुन्छ’।
छोरीले प्रष्टसँग चर्को गरी भनेको ‘बाबा’ सुने।
अनि फेरि सम्झिएँ—मेरो श्रीमतीले मलाई यसरी नै भुल्न नसकिने गरी इनहेलर धेरै ठाउँमा राखिदिन्थिन्। उनीले नै मेरो पकेटमा हालिदिएकी हुन्, यो याद आयो। त्यसैले सकी नसकी फेरि सुटकेसको कुना-कुना खोज्न थालेँ। आमाको झोला समातेँ, बुवाको कोटको खल्ती टटाएँ, जुत्ता भित्र हेरेँ, औषधिको डब्बा खोलेर पनि हेरें। तर केही पनि भेटिएन।
मरेँ, भेटिएन।
दिमागले फेरि एउटा असम्भव योजना सुझायो। झ्यालमा टाउको निकालेर स्वच्छ हावा खोज्ने प्रयास गरें। तर दिल्लीको हावा नै मबाट बदला लिन चाहन्थ्यो। सास झन् बन्द हुँदै गयो।
म बसेको कोठामा घडीले ३ बजाइसकेको थियो। म अझै जीवित थिएँ। एउटा अनपेक्षित शक्ति मेरो मनमा जाग्न थाल्यो। “तिमी बाँच्न सक्छौ। बस्, शान्त भएर सोच।”
मैले गहिरो श्वास तान्ने कोसिस गरें। सासप्रश्वासको एक्सरसाइज गर्न थालें।
मनमा दोधार चल्न थाल्यो—अस्पताल जाऊँ कि बसौँ? यदि बाटोमै गाह्रो भयो भने के गर्ने? तर यहाँ बसें भने, म यो रात काट्न सक्छु कि सक्दिन?
त्यस क्षण मैले आफैंलाई भनेँ
—“सागर, हार मान्न हुँदैन। यो तिमीले जित्नैपर्छ।”
मन मानेन। केही उपाय छैन भन्ने थाहा छ। तर, फेरि म इनहेलर खोज्दै बुबा-आमाको कोठामा, दराजमा पुगेँ। आश छ कि झ्याप्प इनहेलर भेटिन्छ। तर, भेटिएन। गाह्रो हुँदै गयो मलाई। तर, भोकले थाकेको शरीर, निद्राले झुलेको मस्तिष्कले मेरो सबै शक्ति सकाइसकेको थियो।
म झ्याप्प निदाएँ।
केही बेरमा सास प्रश्वास बन्द भयो। म अत्तालिँदै बिउँझिएँ। अब निदाउँदिन भनेर आँखा खोलेर बसेँ। तर फेरि निदाएँ। सास फेरि बन्द भयो। म झस्किँदै बिउँझिएँ। अब सुत्न हुँदैन भनेर म उठेर बसेँ। उठेर बस्दा पनि थकान र निद्राले झूल भएको मेरो शरीर, मलाई धन्न पनि गाह्रो भइरहेको थियो।
म न सुत्न सक्छु, न उठेर बस्न सक्छु। फेरि निद्राको तालमा नै उठेर इनहेलर खोज्न थालेँ। तर, भेटिएन।
नियति मलाई निरन्तर परीक्षण गर्दै थियो। यो कसरी सकिन्छ? यो रात कहिले टुंगिन्छ?
समय बित्दै गयो। घडीले बिहानको ३ बजाइसकेको थियो। म अझै जीवित थिएँ। सासप्रश्वास केही सहज भयो। अब मैले महसुस गरेँ—म बाँच्नेछु। म बाँच्नेछु। म बाँच्नेछु।
म निदाएछु ।
भोली बिहान ९ बजे, बुवा को फोनको घण्टी बज्यो। यो घण्टीले मेरो हृदय एक पलको लागि थाम्यो। हिजो रातको अन्धकार सम्झिए.
अस्पताल पुग्दा, आमाले सोध्नुभयो, “राम्ररी सुत्यौ?”
मैले सामान्य भने, “थोरो श्वास फेरि गाह्रो भएको थियो,”
आमाले भन्नुभयो, “कपडा निकाल्दा सुटकेसमा देखे, अनि मैले सिरानीमा राखिदिएका थिए त, तलाई गाह्रो होला भनेर।”
त्यसपछि त मेरो मन कसम साँचिकै भत्कियो। रातभरि बिताएका ती घन्टाहरू फेरि सम्झिन थाले।
हिजो रातको जे भएको थियो, त्यो कुनै हालतमा बुवा-आमालाई देखाउन चाहन्न। म चाहन्थें कि उनीहरू चिन्ता नगरुन।
आमा ले भनेको कुरा नपत्याउने त कुरा भएन तर मेरो मुर्खता म आफ्नै आँखा ले देख्न चाहन्थे
मैले केही बहाना बनाएर कोठामा गए । आफ्नो ओछ्यानको छेउमा उभिएँ, एकछिन सिरानीलाई टुलुटुलु हेरिरहेँ।
अनि सिरानीलाई च्याप्प समातेँ र उठाएँ ……
*** THE END ***
मन पर्यो भने कृपया कमेन्ट गरिदिनु होला। यो सत्य घटनामा आधारित हो। कथा अझै लामो छ। बाँकी भाग २ मा।
मन छोयो